भारतमा एक नेपालीको दाहसंस्कार प्रवासी साझा मञ्चद्वारा

भारत कुल्लु। भारतमा बसोबास गर्दै आएका एक नेपाली नागरिकको निधनपछि प्रवासी साझा मञ्चको पहलमा बुधबार १ अप्रिल २०२६ का दिन मञ्चको समन्वयमा दाहसंस्कार गरिएको हो।

मृतक राजकुमार खत्री पश्चिम रुकुम जिल्ला, माग्मा गाउँका स्थायी बासिन्दा हुन्। उनी हाल भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लाको बजौरा क्षेत्रमा डेरा गरी दैनिक ज्याला मजदुरी गर्दै आएका थिए। यसै क्रममा उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि कुल्लु क्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो। यसअघि पनि उनी सिकिस्त बिरामी हुँदा प्रवासी साझा मञ्चकै पहलमा सहयोग संकलन गरी उपचार गराइएको थियो। यसपटक उपचारकै क्रममा उनको दुःखद निधन भएको हो।

कुल्लु प्रहरीले प्रवासी साझा मञ्चका जिल्ला अध्यक्ष राजकुमार राना मगरलाई जानकारी गराएको थियो। त्यसपछि मृतकका आफन्तजनको खोजीका लागि विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिए पनि कोही सम्पर्कमा नआएपछि अन्तत संस्थाकै पहलमा दाहसंस्कार गर्ने निर्णय गरिएको बताइएको छ।

जिल्ला अध्यक्ष राजकुमार राना मगरको नेतृत्वमा जिल्ला उपाध्यक्ष करण खड्का, पार्वती भ्याली एरिया समिति अध्यक्ष लालसिंह बुढा मगर, कुमार रोका मगर लगायत अन्य समाजसेवीहरूको उपस्थितिमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृतकको अन्तिम दाहसंस्कार सम्पन्न गरिएको हो।

प्रवासी साझा मञ्चले भारतमा रहेका नेपालीहरूको दुःख सुखमा साथ दिँदै यस्ता मानवीय कार्यहरू गर्दै आएको छ। यस कार्यले भारतमा रहेका नेपाली समुदायबीच सहयोग र एकताको सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रवासी साझा मञ्चका प्रतिनिधि 

 

प्रतिक्रिया दिनुहोस