लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

घोराही, १६ चैत। घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले महोत्सवमा स्थानीय साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुका लागि निःशुल्क स्टल प्रदान गरेको छ। स्टलहरूमा उद्योगीहरूले आफ्ना उत्पादन राखेका छन् भने दर्शकहरूको उल्लेखनीय भीड देखिएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन गरिएको “साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार” भन्ने नारासहितको “लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव २०८२” मा स्थानीय उत्पादनको दैनिक किनमेल भइरहेको छ। स्टलमा राखिएका सामग्री हेर्न आउने दर्शकहरूले उत्पादनसँगै उद्योग सञ्चालनसम्बन्धी जानकारी समेत लिइरहेका छन्।
महोत्सवमा स्थानीय रूपमा उत्पादित सामग्रीमध्ये अल्लोका वस्तु, गुडिया, भाँडा, अचार, फूलका बिरुवा लगायतका सामग्री राखिएका छन्। स्थानीय उत्पादनहरू सन्तोषजनक रूपमा बिक्री भइरहेको व्यवसायीहरूले बताएका छन्। हस्तकलाबाट तयार गरिएका गुडिया राखिएको स्टलमा ग्राहकहरूको राम्रो आकर्षण देखिएको सञ्चालक सीता चौधरीले जानकारी दिइन्। साना देखि ठूला गुडियासम्म बिक्री भइरहेको उनले बताइन्। “मैले आफैं उत्पादन गरेका सामग्री बिक्रीका लागि राखेको छु, व्यापार राम्रो छ, खुशी छु, उनले भनिन्।
अल्लोबाट बनेका टोपी, पर्स, कोट, जुत्ता, झोला लगायतका सामग्री पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। यस्ता सामग्री खरिद गर्न दर्शकहरूको चासो बढेको व्यवसायीहरूले बताएका छन्। विशेषगरी बेलुकीको समयमा बिक्री राम्रो हुने गरेको उनीहरूको भनाइ छ। आयोजकले स्थानीय उत्पादनलाई प्राथमिकता दिएपछि आफूहरू उत्साहित भएको व्यवसायीहरूले बताएका छन्।
शान्ता रानी परियारको प्रस्तुति
महोत्सवमा सोमबार चर्चित कलाकारहरूको प्रस्तुति पनि राखिएको थियो। लोकदोहोरी क्षेत्रमा लोकप्रिय गायिका शान्ता रानी परियार ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन्। उनले “म त ढले ढले”, “पोखरा पृथ्वी चोकैमा”, “स्याउली बजारमा”, “बुझेन मायाले प्यार गरेको” लगायत गीतहरू गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरिन्। साथै गायक रोशन रत्गैयालले पनि आफ्नो प्रस्तुति दिएका थिए।
आयोजकका अनुसार मंगलबार गायक राज कुश्मी, लक्ष्मी बस्नेत लगायत कलाकारहरूको प्रस्तुति रहनेछ। महोत्सवमा स्थानीय उद्यमीहरूले आफ्ना उत्पादनको प्रदर्शन र बिक्रीका लागि स्टल राखेका छन्।

प्रतिक्रिया दिनुहोस