काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन र आम निर्वाचन ०८२ को परिणामबारे टिप्पणी गर्दै आयोग निष्पक्ष छानबिनका लागि नबनेको धारणा प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन्।
उनले सामाजिक सञ्जाल मार्फत लेख्दै कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास भएको स्पष्ट देखिएको उल्लेख गरेका छन्। सोही अनुरूप निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको दाबी छ।
पोखरेलले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उल्लेख गर्दै अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको बताएका छन्। उनले अबको बाटो सहज नहुन सक्ने र राष्ट्र तथा लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने संकेत गरेका छन्।
उनका अनुसार यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्छ।
तर उनले लोकप्रियतावाद अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो नभएको र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि नहुने स्पष्ट पारेका छन्।