घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा बालबालिकाको उत्साहपूर्ण सहभागिता

घोराही, चैत ३
घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय महोत्सव अन्तर्गत विभिन्न विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसै क्रममा मंगलबार बालबालिका लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन भइरहेको “लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२” अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो।

“स्वदेशी उत्पादनको प्रयोग, देश समृद्धिको आधार” भन्ने नारासहित आयोजित वक्तृत्वकला प्रतियोगितामा जिल्लाका निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी बालबालिकाहरूले आफ्ना प्रस्तुतिमार्फत स्वदेशी उत्पादनको प्रयोग र त्यसको महत्वबारे धारणा राखेका थिए।

उनीहरूले नेपाल आयातमुखी भन्दा निर्यातमुखी बन्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारले त्यसतर्फ ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। साथै स्वदेशी उत्पादनको प्रयोगभन्दा पनि विदेशी वस्तुमा बढ्दो आकर्षणका कारण देश समृद्धिको मार्गमा अघि बढ्न नसकेको उनीहरूको भनाइ थियो। स्थानीय उत्पादनको प्रयोग गरी स्थानीय उद्योगहरूको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि सहभागीहरूले औंल्याएका थिए।

प्रतियोगितामा मङ्गलमाया इङ्ग्लिस सेकेण्डरी स्कुलकी छात्रा यमुना बाँठा मगर प्रथम, विद्यानिकेतन सेकेण्डरी स्कुलकी छात्रा स्वयम्बिका बस्नेत द्वितीय र ज्ञानमाला एकेडेमीकी उन्नती केसी तृतीय भएकी छन्।

प्रतियोगिताको निर्णायकमा प्रदीप मजगैयाँ, विनोद केसी र सुशीला आचार्य रहेका थिए। कार्यक्रम संयोजक सरद अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले स्थानीय साना तथा घरेलु उद्योगको उत्पादनलाई बजारिकरण गर्न सरकारबाट प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताए। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम सञ्चालन भएमा आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

महोत्सव आयोजक मूल समितिका संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष नव अधिकारीले महोत्सवलाई विशेष बनाउन दैनिक विविध कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। उनले विद्यार्थीहरूको क्षमता विकास, स्थानीय कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न लक्षित कार्यक्रमहरू भइरहेको बताए।

त्यसैगरी घोराही उपमहानगरपालिकाका सचिव विमल भण्डारीले यस्ता प्रतियोगितामूलक कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

महोत्सव अन्तर्गत बुधबार व्यवसायिक क्षेत्रमा सूचना प्रविधिको प्रयोग, समस्या र सुरक्षा विषयक प्यानल छलफल आयोजना गरिने जनाइएको छ। साथै सांस्कृतिक कार्यक्रम अन्तर्गत गायक ज्योति मगरसहित विभिन्न कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस