कतारस्थित नेपाली दूतावासको सूचना राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने

दोहा, कतार। कतारस्थित नेपाली राजदूतावासले राहदानी सेवासम्बन्धी महत्त्वपूर्ण सूचना जारी गर्दै हाल प्रयोगमा रहेको राहदानी प्रणाली नयाँ प्रणालीमा रूपान्तरण (switch) हुने क्रममा सेवा प्रभावित हुन सक्ने जनाएको छ।
दूतावासद्वारा जारी सूचनाअनुसार राहदानी विभागले २०८२ फागुन २८ गते जारी गरेको निर्देशन बमोजिम हालको प्रणालीबाट नयाँ प्रणालीमा सम्भवत २०८३ जेठ महिनामा रूपान्तरण गरिनेछ। उक्त रूपान्तरणपछि प्रारम्भिक १ देखि ३ महिनासम्म सम्भवत असोज मसान्तसम्म प्रणाली पूर्ण रूपमा स्थिर नहुन सक्ने साना ठूला प्राविधिक समस्या आउन सक्ने तथा सेवा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने उल्लेख गरिएको छ।
यस अवधिमा राहदानी विभागबाट प्रदान गरिने सेवा र दोहास्थित नेपाली दूतावासबाट उपलब्ध गराइने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने सम्भावना रहेको पनि सूचनामा जनाइएको छ।
तसर्थ २०८३ असोज मसान्तसम्म राहदानी बनाउनु पर्ने कतार तथा इरानस्थित सेवाग्राहीहरूलाई २०८३ वैशाख २० गतेभित्र अनलाइन आवेदन प्रक्रिया (pre-enrollment) अनिवार्य रूपमा पूरा गर्न दूतावासले अनुरोध गरेको छ।
नेपाली राजदूतावास दोहा कतारद्वारा २०८२ चैत ३ गते जारी उक्त सूचनाले सेवाग्राहीलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस