नेकपा मालेद्वारा दाङका तीनवटै क्षेत्रमा एमाले उम्मेदवारलाई समर्थन

दाङ १२ फागुन। नेपाल कम्युनिष्ट पार्टी (माले) दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
मंगलबार भएको लिखित सहमतिअनुसार दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको हो। साथै आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा पनि माले र एमालेबीच सहकार्य गर्दै अघि बढ्ने समझदारी भएको जनाइएको छ।
सहमति पत्रमा मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह र जिल्ला सचिव नेत्रप्रकाश पाण्डे तथा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुकुमबहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले हस्ताक्षर गरेका छन्।
दाङ क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा पार्टी केन्द्रीय सदस्य घनश्याम पाण्डे उम्मेदवार रहेका छन्।
दुवै दलबीच भएको यस सहमतिले दाङको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस