दाङमा एमालेको झण्डा जलाएको घटनामा थप दुई पक्राउ

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार २०८२ साल फागुन ७ गते राति करिब ९:३० बजे दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सूर्य चिन्ह अंकित झण्डा जलाइएको थियो। घटनापछि सुरु गरिएको अनुसन्धानका क्रममा थप दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्। यसअघि पनि सोही घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुढीबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।प्रहरीले घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति दाङको तुलसीपुर आएका बेला उक्त झण्डा जलाइएको भन्दै राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। प्रहरीले भने घटनाबारे निष्पक्ष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस