ज्ञानज्योति एजुकेशनल एकेडेमी द्वारा दोस्रो किड्स ओलम्पियाड भव्य रूपमा सम्पन्न

घोराही। दाङ घोराही–१३ डुमरगाउँस्थित ज्ञानज्योति एजुकेशनल एकेडेमीले बिहीबार दोस्रो किड्स ओलम्पियाड कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। बालबालिकाको प्रतिभा प्रस्फुटन र अतिरिक्त क्षमताको विकासलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम विद्यालय परिसरमै आकर्षक रूपमा सजाइएको खेलमैदानमा सम्पन्न भएको हो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य पार्वता थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूलाई सहज रूपमा बसेर आफ्ना नानीहरूको प्रस्तुति अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको थियो भने खेलमैदान गलैंचाले सजाएर बालबालिकालाई सुरक्षित र सहज वातावरण प्रदान गरिएको थियो।

कार्यक्रममा नानीहरूले विभिन्न रोचक खेलकुद प्रतिस्पर्धामा भाग लिँदै आफ्नो क्षमता प्रस्तुत गरे। साथै आकर्षक नृत्य प्रस्तुतिहरूले कार्यक्रमलाई थप रमाइलो र जीव्त बनाएको थियो। सहभागी बालबालिकाले आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्दा अभिभावक र उपस्थित अतिथिहरूले ताली बजाउँदै हौसला प्रदान गरेका थिए।

वक्ताहरूले यस्ता कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा अतिथिहरू शिला वली, स्मृति बाठा मगर, पञ्चमाया बिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुशीला महराले राख्नुभएको थियो भने समन्वय दिन्दमाया रोकाले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्रकाश सुनार र विष्णु घर्तीले संयुक्त रूपमा गर्नुभएको थियो।

विद्यालयले आगामी दिनमा समेत यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस