घोराही। दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ अन्तर्गत शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित र्यापर माइलाको दमदार प्रस्तुति मुख्य आकर्षण बनेको छ। उनको प्रस्तुति हेर्न मेला स्थलमा हजारौँ दर्शक उर्लिएका थिए।
र्यापर माइला ले त्याङ्गो, लाइफ स्टाइल, हेर्न हेर्न केटा हो, झुम्के भुलाकी, जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दै युवादर्शकलाई विशेष रूपमा झुमाए। यो नानिको नाकैमा झुम्के भुलाकी बोलको गीतमा दर्शक नाच्दै, गुनगुनाउँदै रमाएका देखिन्थे।
कार्यक्रममा त्यसपछि लोकदोहोरी क्षेत्रका स्थापित गायक विष्णु खत्रीले भरिया दाइलाई बिसाउने भारी, लुम्बिनी जता म उतै, यो देशको मुहार फेर्न जस्ता चर्चित गीत प्रस्तुत गर्दै दर्शकको मन जिते। उनका गीतमा दर्शक भावुक हुँदै ताली र नारासहित समर्थन जनाइरहेका थिए।
त्यसैगरी, गायिका कला लम्सालले अन्ती लभर, जाम डाँडा, सारै राम्री भन्छन् कसैकसैले, जस्ता गीत प्रस्तुत गरिन्
भने गायिका अपेक्षा गिरीले सोल्टी नि र ताना तान भो हाना हान भो गीतमार्फत माहोल थप उत्साहपूर्ण बनाइन्।
नृत्यतर्फ अस्मिता पुरीको आकर्षक प्रस्तुति तथा सोनी डान्स ग्रुपको सामूहिक नृत्यले कार्यक्रमलाई अझ रंगीन बनाएको थियो। साथै स्थानीय कलाकारहरूको प्रस्तुतिले मेलाको सांस्कृतिक विविधता झल्काएको थियो।
कार्यक्रमको सञ्चालन माधव जोन खत्रीले कुशलतापूर्वक गरेका थिए। मगर समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको माघे मेला आज माघ १० गतेसम्म सञ्चालन भइ समापन भएको छ।