माघे मेलाकाे राैनक बढ्दै प्रकाश दुतराज र प्रताप दासको प्रस्तुतिमा झुम्यो घोराही

दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को बाह्रौँ दिन चर्चित कलाकारहरूको दमदार प्रस्तुतिसँगै दर्शकहरूले भरपुर मनोरञ्जन लिएका छन् ।

कार्यक्रममा चर्चित गायक प्रकाश दुतराजको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए । गायक दुतराजले बैनी झ्यालैमा, लाहुर जाने रेलैमा, जुन माया भेट्न आउ है, घर कता हो बैनीको, छैन र माया हैन र माया, देउरालीमा धजा रिमै तथा चोली मैलो भो जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । उनका गीतमा दर्शकहरू छमछमी नाच्दै रमाएका थिए ।

त्यसैगरी नेपाली गीत–संगीत क्षेत्रका चम्किला तारा मानिने गायक प्रताप दासले पनि आफ्ना चर्चित गीतमार्फत् दर्शकको मन जितेका थिए ।

हजारौँ गीतमा स्वर दिइसकेका दास युवापुस्तामाझ अत्यन्त लोकप्रिय गायकका रूपमा चिनिन्छन् । उनले तिम्रो स्वरमा स्वर मिलाई, फोटो फिरिममा, हेर्दा राम्रो माछा पुछ्रे, हिमाल जलेर आगो होस, फुल होइन काँडै, मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छी र दुई दुना चार जस्ता गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायिका भिमकुमारी बाठाले मरे खबर सुन्न पाउने छौं, बबै तरेर सिउदो भरेर गीत गाए।

तथा डान्सर टीका जैसीको नृत्य प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन माधव जोन खत्रीले गरेका थिए ।

दैनिक रूपमा विविध सांगीतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुँदै आएको माघे मेलाले घोराहीको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस