लोकप्रिय गायिका सम्झना लामिछाने घोराही आउँदै माघे मेलामा सांगीतिक रौनक थपिने

दाङ। चर्चित तथा लोकप्रिय गायिका सम्झना लामिछाने आज घोराही आउँदै हुनुहुन्छ। दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को अवसरमा उहाँले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

नेपाल मगर संघ घोराही उपमहानगर समितिको आयोजनामा घोराही–१४ गोर्खा टोलमा सञ्चालन भइरहेको मेलामा सम्झना लामिछानेको उपस्थितिले दर्शकको उत्साह थपिने आयोजकको विश्वास छ। लोक तथा आधुनिक गीतमार्फत दर्शकको मन जित्दै आएकी लामिछानेको प्रत्यक्ष प्रस्तुति हेर्न घोराही तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

मगर संस्कृतिको संरक्षण, प्रवर्द्धन र मनोरञ्जनलाई एकसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको माघे मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, प्रतियोगिता र व्यापारिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। आयोजकले सबैलाई परिवारसहित मेला अवलोकन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस