रोल्पामा बोलेरो जिप दुर्घटना : दुई विद्यार्थीको मृत्यु ९ घाइते

रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।

हिजो राति करिब १० बजेको समयमा सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई बाटोमै पल्टिँदा दुर्घटना भएको हो। जिप लुंग्री गाउँपालिका–७ हर्जाङ छोपे निवासी २५ वर्षीय मनसुर घर्तीले चलाएका थिए।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त जिपमा सवार ११ जना यात्रु घाइते भएका थिए। घाइते सबैलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको थियो। उपचारकै क्रममा आज बिहान घाइतेमध्ये सुनिल वि.क. र दिपा पुनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

अन्य घाइतेहरूमा हिमाल वि.क., अमृता पुन, जमुना वि.क., अस्मिता वि.क., पवित्रा पुन, शनि वि.क., विपना घर्तीमगर, किसन घर्तीमगर र हस्तिरा वि.क. रहेका छन्। उनीहरूको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। थप उपचारका लागि घाइतेहरूलाई लुम्बिनी सिटी अस्पताल, बुटवल (रुपन्देही) रिफर गरिएको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोवाङ, रोल्पाबाट ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र वीर विश्वकर्माको कमाण्डमा ७ जनाको थप टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ।
जिप चालक हाल प्रहरी नियन्त्रणमा रहेका छन् भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस