दाङ लमहीमा गाेली चल्यो एक जना घाइते

 देउखुरी। दाङको लमही नगरपालिका–५ स्थित एक सुनचाँदी पसलमा लुटपाटको प्रयास हुँदा गोली प्रहार भएको छ। लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा भएको घटनामा पसलका सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्।

प्रहरीका अनुसार लुटपाट गर्ने उद्देश्यले पुगेको व्यक्तिले अचानक गोली चलाएको थियो। गोली लागेर घाइते भएका सुनारलाई तत्काल लमही अस्पतालमा पुर्‍याई उपचार गरिएको छ। चिकित्सकहरूले उनको अवस्थाबारे आवश्यक उपचार भइरहेको जानकारी दिएका छन्।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए।

उनका अनुसार लुटपाट गर्ने उद्देश्यले नै गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरेको छ भने आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस