लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा सर्वेक्षण सन् २०५० सम्म दाङ कस्तो बन्नुपर्छ

घोराही, १९ चैत
घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। महोत्सवमा दैनिक रूपमा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् भने बाल उद्यान तथा मनोरञ्जनका स्टलहरू पनि आकर्षणको केन्द्र बनेका छन्। व्यावसायिक स्टलहरूमा विभिन्न व्यवसायिक सामग्री प्रदर्शन गरिएको छ। साथै प्रवेशद्वार नजिकै छुट्टै सूचना स्टल स्थापना गरिएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ जिल्ला शाखाले ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा युवालाई व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। सो क्रममा सीपमूलक तालिम तथा रोजगारी व्यवस्थापनका लागि आवेदन फारम भर्ने र आवश्यक जानकारी प्रदान गर्ने काम भइरहेको छ। आयोजकले स्टलमार्फत व्यक्तिगत विवरण, हालको अवस्था, सिक्न चाहेको सीप, काम गर्न सक्ने समयलगायतका विषय समेटिएको फारम भराइरहेको जनाएको छ।
महोत्सवमा ‘सन् २०५० सम्म दाङ कस्तो बन्नुपर्छ ’ भन्ने विषयमा जनमत तथा सुझाव संकलन गर्न सर्वेक्षण पनि सञ्चालन गरिएको छ। सर्वेक्षण फारममा सन् २०५० सम्म दाङको मुख्य पहिचान, आर्थिक विकासका आधार, रोजगारी सिर्जना, युवालाई व्यवसायतर्फ आकर्षित गर्ने उपाय, किसानको आय वृद्धि, यातायात पूर्वाधार, उद्योग विकास, लगानी विस्तार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित प्रश्नहरू समावेश गरिएको छ।
महासंघका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजकले सर्वेक्षणले आगामी योजनाहरू तयार गर्न सहयोग पुग्ने बताए। उनले दर्शकहरूले उत्साहका साथ सर्वेक्षणमा सहभागिता जनाइरहेको जानकारी दिँदै सबै दाङबासीलाई सुझाव प्रदान गर्न आग्रह गरे। उनका अनुसार सर्वेक्षणले भावी विकासका योजना निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सव अन्तर्गत सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। शुक्रबार चर्चित र्यापर जिबीको प्रस्तुति रहने आयोजकले जनाएको छ भने शनिबार नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहनेछ। आयोजकले महोत्सव अवलोकनका लागि दर्शकलाई उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस