प्रियासनले निकाल्दै ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ कविता सङ्ग्रह

दाङ । नेपालमा दोस्रो सर्वाधिक उपन्यास प्रकाशन गर्ने लेखक सविन प्रियासनले आफ्नो पहिलो कविता सङ्ग्रह केपी शर्मा ओली समृद्धिका महानायक प्रकाशन गर्ने तयारी गरेका छन्। मंसिरको अन्तिम साता बजारमा ल्याउन लागिएको यस कविता सङ्ग्रहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको भूमिकामा उनले गरेका काम र योगदानलाई कवितामार्फत प्रस्तुत गरिएको प्रियासनले बताए।

काठमाडौंबाट विमोचन हुने तयारी गरिएको यस सङ्ग्रहमा ५३ वटा कविता समावेश छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवसमेत रहेर काम गरिसकेका प्रियासन प्रेस चौतारी नेपालका दुईपटक केन्द्रीय उपाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालीसकेका व्यक्ति हुन्। विभिन्न सामाजिक अभियानमा सक्रिय प्रियासनले यस वर्ष तीनवटा उपन्यास बजारमा ल्याइसकेका छन्। अहिले सम्म उनका १३ वटा उपन्यास एक कथा सङ्ग्रह एक सम्पादकीय सङ्ग्रह र धेरै गीतहरू सार्वजनिक भइसकेका छन्।

बजारमा प्रकाशनको अन्तिम चरणमा पुगेको कविता सङ्ग्रहमा देशको समृद्धि, सुशासन र सम्भावनाका विषयहरू पूर्व प्रधानमन्त्री ओलीसँग सम्बद्ध रहेर प्रस्तुत गरिएको छ। यसमा एमाले महासचिव शंकर पोख्रेलसहित केही नेता तथा पत्रकारहरूको शुभकामना सन्देश पनि समावेश गरिएको छ। कविता सङ्ग्रहका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबाट आईएसबिएन नम्बर पनि लिइसकिएको प्रियासनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस