एमबीबीएस छात्रवृत्तिमा सफल रोशनी घर्ती मगरलाई सम्मान

एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल रोशनी घर्ती मगरलाई नेपाल मगर संघ घोराही नगर समिति​ले सम्मान गरेको छ।समितिद्वारा आयोजित विशेष कार्यक्रममा रोशनीको मेहनत, लगनशीलता र अनुशासनको उच्च प्रशंसा गरिएको थियो। घोराही–१० स्थित श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी रोशनीले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एमबीबीएस छात्रवृत्ति परीक्षा पास गरी नेपाल सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेकी हुन्।

कार्यक्रम नेपाल मगर संघ घोराही नगर समिति अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिका–१४ का वडा अध्यक्ष भानसिं बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगर, केन्द्रीय अनुशासन विभागका संयोजक कर्ण बहादुर बुढा मगर, दाङ जिल्ला समन्वय समितिका अध्यक्ष मुक्त बुढा मगरलगायत अतिथिहरुले रोशनीलाई बधाई ज्ञापन गर्दै मगर समुदायको गौरव बढाएको बताएका थिए। रोशनीको कठिन परिश्रम, लक्ष्यप्रति प्रतिबद्धता र अनुशासन नै उनको सफलताको मुख्य कारण हो। एमबीबीएसमा छोरी सफल भएपछि उनका बुबा खिम बहादुर घर्ती मगरले परिवार अत्यन्त खुसी भएको बताए।

कार्यक्रम उपाध्यक्ष गणेश प्रताप पुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सचिव गोपाल बुढा मगरले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस