सविन प्रियासनको १२औं कृति ‘कालो मन’ को विमोचन

प्रियासन भन्छन् – नेपालमै सबैभन्दा धेरै उपन्यास लेख्ने र २०८४ मा निर्वाचन लड्ने लक्ष्य

घोराही, कार्तिक २ । उपन्यासकार, साहित्यकार तथा समाजसेवी सविन प्रियासनले नेपालमै सबैभन्दा धेरै उपन्यास प्रकाशन गर्ने र आउँदो २०८४ सालको निर्वाचनमा जनप्रतिनिधिका उम्मेदवारका रूपमा सहभागिता जनाउने आफ्नो दुई प्रमुख लक्ष्य रहेको बताएका छन्।नेपालका दोस्रो सर्वाधिक उपन्यासकारका रूपमा चिनिएका प्रियासनले आइतबार घोराहीमा आयोजित कार्यक्रममा आफ्नै १२औं कृति ‘कालो मन’ को विमोचन गर्दै उक्त भनाइ व्यक्त गरे।

प्रियासनले भने संयोग मान्नुपर्छ म नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशन गर्ने उपन्यासकार बनेको रहेछु। अब मेरो लक्ष्य पहिलो बन्नेछ। त्यससँगै देश र जनताको सेवाका लागि २०८४ को निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्य छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवसमेत रहेका प्रियासनको ‘कालो मन’ उपन्यास २०८ पृष्ठको रहेको छ। गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधान सम्पादकसमेत रहेका प्रियासनले यसअघि जेठ ३१ गते ‘कडी’ उपन्यास प्रकाशन गरेका थिए, जसलाई उनले २५ दिनमै लेखनदेखि छपाईसम्म पूरा गरेको बताए।

कृषि उद्यमशीलता र स्वास्थ्य क्षेत्रलाई केन्द्र बनाएर लेखिएको ‘कालो मन’ उपन्यासमा प्रेम, समाज र पारिवारिक जीवनका यथार्थ चित्रण गरिएको छ। प्रियासन पछिल्ला दिनहरूमा ‘घोराही बनाऔं अभियान’ मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्।

सुभ्राम्सु प्रियासन चौधरीको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा झण्डै एक सय सहभागिहरूले उपन्यासको सामूहिक विमोचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्‌का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले प्रियासनको साहित्यिक पत्रकारिता र सामाजिक योगदानलाई प्रेरणादायी भन्दै प्रशंसा गरे।

विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा सक्रिय प्रियासनले साहित्यमा पनि उल्लेखनीय स्थान हासिल गरेको बताए।

त्यस्तै, सर्वोदय पुस्तकालयका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले प्रियासनले सुरुदेखिनै साहित्य, पत्रकारिता र समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले प्रियासनले साहित्य र पत्रकारिता दुवै माध्यमबाट समाज रूपान्तरणमा प्रभावकारी योगदान पुर्‍याइरहेको बताए।

कार्यक्रमको सहजीकरण गणतन्त्र दैनिकका सम्पादक टिका बहादुर बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस