घोराही, भदौ ९ । सिज स्वर्ग टोल विकास संस्था, दिपज्योती टोल विकास संस्था र बडहरा जागृति टोल विकास संस्थाको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम २०८२ यही भदौ १० गते घोराही–१३, डम्मुर गाउँ टाउनप्लानिङ फुटबल ग्राउन्डमा हुने भएको छ।
कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा स्थानीय विभिन्न संघ–संस्था, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहने र तीज गीत, नृत्य, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।
यस कार्यक्रममा आयोजक समिति पदाधिकारीहरूमा अध्यक्ष मनिषा पुन, उपाध्यक्ष विष्णु बाँठा, कोषाध्यक्ष सरिता बुढा, सचिव कलपना बुढा, सहसचिव मनकुमारी पुन, सदस्य बेलमती बुढा र पूजा बुढा रहेका छन्।
तीज पर्वको महत्व तीज हिन्दू नारीहरूको महान् पर्वका रूपमा मनाइन्छ। विशेषगरी हरितालिका तीजलाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ। तीजका दिन महिलाहरू व्रत बस्दै भगवान् शिव र पार्वतीको पूजा आराधना गर्छन्। यस पर्वले वैवाहिक जीवनको सुख–समृद्धि, दीर्घ आयु र परिवारको कल्याणको कामना गर्ने विश्वास गरिन्छ। साथै, तीज पर्वले नारीहरूको भेटघाट, आत्मीयता आदान–प्रदान र सांस्कृतिक ऐक्यबद्धताको अभिव्यक्ति गर्ने अवसर पनि प्रदान गर्दछ।
आयोजक संस्थाहरूले यसपटकको कार्यक्रमलाई अझ भव्य र सफल बनाउन चर्खे पिङ लिङ्गे पिङ खेल्न सबैलाई सहभागी हुन आग्रह गरेका छन्।