घोराही २६ असार। गुरुकुल एकेडेमीले यस वर्षको गुरुपूर्णिमालाई विशेष बनाउँदै दाङ जिल्लाका विभिन्न सामुदायिक विद्यालयका महिला प्रधानाध्यापकहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। प्रधानाध्यापक गुरुआमाहरुसंग गुरुकुल एकेडेमी मार्फत आयोजित यस कार्यक्रममा शिक्षामा महिला नेतृत्वको भूमिकालाई सम्मान गर्दै महिला प्रधानाध्यापकहरूको योगदानको कदर गरिएको थियो। गुरुपूर्णिमाको अवसर पारेर महिला प्रधानाध्यापकहरूलाई सम्मान गर्नुको उद्देश्य शिक्षण क्षेत्रमा उनीहरूले पुर्याउँदै आएको समर्पण, लगनशीलता र नेतृत्व क्षमतालाई सम्मान गर्नु रहेको गुरुकुल एकेडेमीका अध्यक्ष ई अनन्तराज घिमिरेले बताउनुभएको छ ।
श्री बिपि कोइराला मावि शान्तिनगरकी तुलसीकुमारी गिरीले गुरुकुल एकेडेमीले जस्तो नाम त्यस्तै संस्कार विद्यालय भित्र रहेका भन्दै विद्यालयको प्रसंशा समेत गर्नुभयो । यस्तै श्री उदय आधारभुत विद्यालयकी प्रधानाध्यापक विमला वलीले स्थानिय तहले गर्नु पर्ने काम गुरुकुल एकेडेमीले गरेको भन्दै खुसि ब्यक्त गर्नुभयो । साथै उँहाले यस कार्यले स्थानिय तहलाई सिकाईको बाटो देखिने पनि बताउनुभयो ।

कार्यक्रममा गुरुकुल एकेडेमीका शिक्षकहरुले महिला प्रधानाध्यापकहरूको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानले अन्य शिक्षकहरू र विद्यार्थीहरूलाई समेत प्रेरणा दिएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे। सम्मानित प्रधानाध्यापकहरूले आयोजक प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले आफूहरूलाई अझै उत्साह र प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए। गुरुपूर्णिमाको अवसरमा गरिएको यो विशेष सम्मान कार्यक्रमले दाङ जिल्लामा शिक्षामा महिला नेतृत्वको पहिचान र सम्मानलाई नयाँ उचाइमा पुर्याएको छ। गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा तथा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सहजिकरण परीक्षा संयोजक विबेक देवकोटाले गर्नुभएको थियो ।
© thurpaonline.com, All Rights Reserved.