रोल्पा। अटो दुर्घटना हुँदा रोल्पाको रुन्टिगढी गाउँपालिका-२ लामिडाँडामा एक जनाको मृत्यु भएको छ। दुई जना भने घाइते भएका छन्।
आज दिउँसो करिब ३ बजे होलेरीबाट धारापानी जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित हुँदा करिब १०० मिटर तल खसेको हो। दुर्घटनामा परी ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
अटो चालक ३८ वर्षीय मनराज नेपाली र यात्रु ६२ वर्षीय मान बहादुर परियार घाइते भएका छन्। दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै सुरपालमा रहेको प्रहरी चौकीबाट प्रहरी निरीक्षक तिलक बहादुर बस्नेतको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।