आज देखि प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला शुरु नगरप्रमुख चौधरी द्वारा उद्घाटन

घोराही । मगर तथा गैर मगर समुदायको भेषभुषा संरक्षण, कला संस्कार संस्कृति तथा  खानपान प्रदर्शन तथा प्रवर्द्धन भन्ने मुल नाराका साथ आज देखि प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला शुरु भएको छ ।

नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता अनि नेपाल मगर संघ केन्द्रका केन्द्रिय उपाध्यक्ष  दर्जित रोका मगरको बिशिस्ट आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिले कला संस्कार संस्कृति र भेषभुषालाइ संरक्षण संगै व्यावसायिक गर्दै त्यसलाइ आम्दानी र रोजागारी संग जोड्नु पर्ने बताउनुभयो । उहाले यसैका लागि उपमहानगरपालिकाले थारु कुसुन्दा भाषा पढाइ गरि रहेको र अब खाम भाषालाई लेखपढ भाषा बनाउनुपर्छ भनेर घोराही उपमहानगरले खाम भाषाको पाठ्यक्रम तयार पार्न लागेको बताउनुभयो । आगामी शैक्षिकसत्रदेखि घोराहीमा खाम भाषाको पढाइ सुरुहुने बताउनुभयो । “सबै कला र भेषभूषाको संरक्षण गर्न जरुरी छ र त्यसका लागि घोराही उपमहानगरपालिका सदैव तयार रहेको छ” उहाले भन्नुभयो । त्यस्तै बिशिस्ट अतिथि रोकामगरले माघे पर्वलाइ जबर्जस्त रुपमा थारु समुदायको मात्र हो भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाले माघे सकराती मगर समुदायको पनि एक प्रमुख पर्व रहेकोले यसलाइ कुनै एक जातिको मात्रै हो भन्नु गलत रहेको बताउनुभयो ।
नेकपा एमाले दाङ जिल्लाका उपाध्यक्ष मनोहर बुढाले यो संस्कार, संस्कृति र भेषभूषालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्यले  नेपालीहरुको संस्कृति उत्पादनसँग सम्बन्धित भएको बताए ।  संस्कार र संस्कृति राज्यका सम्पत्ति भएको भन्दै  हरेक संस्कृतिलाई उत्पदनसँग  जोड्न र त्यसको विकास गर्नका लागि स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

नगर समितिवरिष्ठ उपाध्यक्ष मित्रलाल घर्तीमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, घोराही उपमहानगरपालिका-६ का वडा अध्यक्ष विष्णु आचार्य नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी,  ढाङढुङे रोल्पाली सेवा समाजका अध्यक्ष नारायणप्रसाद रोका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा मगर सांस्कृतिक पहिचान झल्किने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । घोराहीको सहिद लखन थापा पार्कबाट निकालिएको सांस्कृतिक पहिचान झल्कने भेषभुषा, झाँक्रीसहितको र्‍याली बजार परिक्रमा गरेर महोत्सव स्थलमा प्रवेश गरेको थियो ।
माघ ५ गतेदेखि ११ गते सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको सहजीकरण संघका कार्यबाहक सचिव गणेश प्रताप पुनमगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस