दाङ/ तुलसीपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान ४:५० बजे सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका-३ साततेलमा दुर्घटना हुँदा दाङ दंगीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यान कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले जानकारी दिए।
जिपमा पाँच जना सवार रहेको सडकबाट करिब तीनसय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ। सल्यानको कपुरकोट गाउँपालिका-६ की ३१ वर्षीय टीकादेवी वली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँके नेपालगञ्ज स्थित नर्सिङ होममा पठाइएको डिएसपी ठकुरीले जानकारी दिए। जिप दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।