दाङ/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसका दुई र जसपाका एक मन्त्री थपेका हुन ।
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री र पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका हुन ।
अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् । सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने पक्का भए पनि कुन पार्टीबाट पहिला टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो छ । लुम्बिनी प्रदेशमा १२ मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय अझै खाली छ ।
नयाँ मन्त्रीको सिफारिस मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखको कार्यालयमा पठाइएका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान ८ बजे शपथग्रहण हुने तयारी गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।