डडेल्धुरामा रात्री बस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी छुटेको रात्री बस गए राती डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।
सो दुर्घटनामा परि बैतडीको पुर्चौंडी नगरपालिका ३ का ४५ वर्षीय जयमति बोहरा, सोही ठाउँकी २० वर्षीय कमला बोहरा, उनका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ।
प्रहरी निरीक्षक बमका अनुसार बस चालक वीरेन्द्र बोहरा गम्भीर घाइते अबस्थामा छन्। बोहरालाई उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको। चालक निदाएकाले दुर्घटना हुनसक्ने प्रहरीको अनुमान गरेको छ।