राप्ती नदीमा हामफालेका एक पुरूषको सकुशल उद्धार

दाङ / राप्ती नदीको पुलबाट हाम फालेका एक युवकको करिब तीन घन्टापछि सकुशल उद्धार भएको छगढवा गाउँपालिका २ महदेवास्थित पुलबाट सोमबार बिहान राप्ती गाउँपालिका ७ अननपुरका अन्दाजी ३३ वर्षीय आशाराम चौधरीले हाम फाली बेपत्ता भएका थिए।

चौधरीका भाइ खुसीरामले दाजुले हाम फालेको देखेपछि नजिकैको प्रहरी र स्थानीयलाई गुहार खबर गरेका थिए । भाइ खुसीरामले दाजु आशारामले पुलबाट बिहान करिब साढे ६ बजेतिर हाम फालेको सूचना नजिकैको प्रहरी चौकी गोवडियालाई सूचना दिएपछि तत्काल उक्त स्थानमा गोवडिया प्रहरी चौकी र इलाका प्रहरी कार्यलय गढवाबाट उद्धारको लागि खटिएको थियो।

प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब सवा ९ बजेतिर उनको सकुशल उद्धार भएको इलाका प्रहरी कार्यलय गढवाकी प्रहरी निरीक्षक कालिका कार्की खड्काले बताइन्।

आशारामको राप्ती गाउँपालिका ६ बगारपुरस्थित घाटबाट सकुशल उद्धार भएको प्रहरीले जानकारी दिएको छ । मर्नका लागि भन्दै हाम फालेको जस्तो देखिन्छ। चौधरी पौडिएर ज्यान जोगाएको देखिन्छ । उनी पौडिएर झन्डै पाँच-सात सय मिटर दक्षिण एउटा सुरक्षित ठाउँमा पुगेर बसेका थिए । त्यहाँ पानीले घेरिएको बगर जस्तो ठाउँमा बसेको बेला फेला पारेपछि प्रहरीले उद्धार गरेको हो । हामफाल्नुको कारण चौधरीले खुलाएका छैनन् ।

अहिले लमही अस्पताल लमहीमा उपचारार्थ पठाइएको उपचार पछि थप अनुसन्धान हुने दाङ जिल्ला प्रहरी प्रवक्ता सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस