घोराही । इनार भित्र सफाइका लागि पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा सुचना अधिकृत प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले बताए ।

स्थानीय दुर्गा विकको इनार सफा गर्न बिहान १० बजेतिर इनारमा पसेका उनीहरु इनारबाट निस्कन नसकेको र भित्र फसे पछि स्थानीयले प्रहरीलाई सूचना दिएको प्रबक्ता तिमल्सिनाले बताए । सूचना पाए लगत्तै प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी उद्धारका लागि घटनास्थल पुगेको थियो ।
उद्धार गरेर उनीहरुलाइ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइए पनि दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।