नेपाल मगर संघ घोराही नगरले सुरु गर्‍यो ५ दिने नेतृत्व विकास तालिम

घोराही । नेपाल मगर संघ घोराही नगर समितिले ५ दिने नेतृत्व विकास तालिम आज देखि घोराहीमा सुरु गरेको छ ।

युवाहरूमा नेतृत्व विकासको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रममा घोराही उप महानगरपालिका अन्तर्गतका विभिन्न समाजहरुको ५० जना ब्यक्तिहरुको सहभागिता रहेको छ । साउन २९ गते देखि भाद्र १ गते सम्म चल्ने उक्त कार्यक्रमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
नगर समितिका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष भानसिङ बुढा मगरको प्रमुख आतिथ्यता र नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितीका कार्यवाहक अध्यक्ष मुक्त बुढा मगरको विशिष्टतामा कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भानसिङ बुढा मगरले नगर समितिले गरेको कार्यक्रमको प्रसंसा गर्नुभयो । नेतृत्व विकास विना समुदाय अगाडि बढ्न नसक्ने भन्दै यस्ता कार्यक्रमले मगर समुदायले लाभ लिनु पर्नेमा जोड दिनुभयो । ‘हाम्रो समुदाय अत्यन्तै सांस्कृतिक रुपमा धनी भए पनि समुदायले यसलाइ सहि सदुपयोग नगर्दा संस्कृति नै धरापमा पर्ने खतरा भयो ।’ उहाले भन्नुभयो । संस्कृतिको नाममा जाँडरक्सी अत्यधिक प्रयोगले समुदाय प्रती नै नराम्रो प्रभाव बारे सबैले मनन गर्नुपर्ने उहाँको जोड छ । मगर भन्ने बित्तिकै झगडालु र मद्यपान गर्ने समाजको रुपमा नभई अब सवैको नेतृत्व गर्न सक्ने लिडरको रुपमा प्रस्तुत हुन सक्नु पर्ने बताउनुभयो । त्यस्तै बिशिस्ट अतिथि मुक्त बुढा मगरले यस्ता कार्यक्रम हरेक पालिकाले गर्नु पर्ने बताउनुभयो । उहाले नेतृत्वमा मगर समुदाय अत्यन्तै पछि परेको भन्दै यस्ता कार्यक्रमले क्षमताको विकास हुने र त्यसले समुदाय लाई नै फाइदा गर्ने बताउनुभयो । आगामी वर्ष देखि जिल्लाले विशेष पहल गर्ने समेत उहाले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन उद्घोषण तालिम दिइएको थियो । तालिमका प्रशिक्षक थुर्पा अनलाईनका संचालक कैलाश घर्ती मगर र नेपाल मगर पत्रकार संघका अध्यक्ष शान्त कुमार बुढा मगरले उक्त तालिम दिनुभएको हो ।
कार्यक्रममा रोल्पा कोटगाउँले समाज, लुगुम्याल खाम समाज, थबाङ्गी सेवा समाज, रोल्पा कोर्चावाङ सेवा समाज, रोल्पाली उवा सेवा समाज, रोल्पाली रेउघाली सेवा समाजको तर्फ बाट सहभागी भएका छन् । त्यस्तै महत सेवा समाज, पुर्वी रुकुम काँक्री सेवा समाज, रुकुमली कोर्जाली सेवा समाज, तकसेरा सेवा समाज र युनिक पञ्चे बाजाको पनि उपस्थिति रहेको छ ।

घोराही नगर समितिका उपाध्यक्ष अमर बहादुर घर्तीको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण समितिको सचीव भिम प्रकाश झाँक्री मगरले गर्नुभएको थियो भने सम्पुर्ण समाजको तर्फ बाट हर्कराज घर्ती मगरले शुभकामना मन्तव्य दिनुभएको थियो । ५ दिन सम्म चल्ने उक्त कार्यक्रममा भोलि मगर कला संस्कृति बारे प्रशिक्षण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस