घोराही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउन र सही दिशामा लैजान कांग्रेस र एमाले मिल्नु परेको बताउनुभएको छ । गृह जिल्ला दाङमा मंगलवार बिहान प्रस चौतारी दाङले गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचन कानुनले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत गर्ने प्रवधान गलत भएको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ । तर डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी अनि तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । मिलेको छ त ?’

लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उहाँको भनाइ छ । यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताउनुभयो । उहँँले लोकतन्त्रको स्थायित्वको लागि सबै दलहरु जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ ।
प्रेस चौतारीमा ६ जना सक्रिय पत्रकार प्रवेश

जिल्लामा स्वतन्त्ररुपमा पत्रकारिता गरिरहनु भएका विपिनमणि आचार्य, अनुप आचार्य, सन्दिप भुसाल, मोहम्मद जैद फारुकी, दिवस देवकोटा, जाबेद अखतरलाई चौतारीमा स्वागत गर्नेक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महासचिव पोख्रेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनलगायतका नेताहरुले टिका, खादालगाएर चौतारीमा स्वागत गर्नु भएको थियो । चौतारीमा प्रवेश गर्ने सञ्चारकर्मीहरुलाई चौतारीको सदस्यता समेत सोही अबसरमा प्रदान गरिएको थियो ।