कैलालीमा १७ वर्षीय नसिब चौधरीको उपचारको क्रममा मृत्यु भए पछि स्थिती तनावग्रस्त भएको छ । कैलालीको धनगढीस्थित नोभा अस्पतालमा साउन ७ गते जण्डिसको उपचार गर्न आएका बेलौरी नगरपालिका—२ का चौधरीको शुक्रवार मृत्यु भएको हो ।
घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा आफन्तले शनिबार बिहानै देखि ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका छन् । अस्पतालमा ढुंगामुढा भए पछि अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन् । ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ । अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको आफन्तले दाबी गरिरहेका छन भने उनीहरूले मृतकको शव उठाउन मानेका छैनन् । उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ ।
मृतकका मामा रामकृष्ण चौधरीका अनुसार अस्पतालले सुरुमा अर्को अस्पतालमा लैजान्छौं भन्दा लान नदिएको र अन्तिम समयमा मुटुको डाक्टर नभएको बताएर नेपालगन्ज लैजान भनेको थियो । तर पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको र समयमै राम्रो अस्पतालमा पु¥याउन पाएको भए भान्जाको मृत्यु नहुने चौधरीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शनिबार बिहान छलफल चलिरहेका बेला आफन्तले ढुंगामुढा गरेको बताए । उनले अवस्थालाई नियन्त्रण गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीबाट अश्रुग्यासका केही सेल प्रयोग गरेको र अहिले वार्ताको प्रयास भइरहेको वताए।