घोराही/ लामो समय देखि जटिल रोगले थला परेका दिदिभाइलाई रोल्पाली सेवा समाजले आर्थिक सहयोग गरेको छ।
रोल्पा त्रिवेनी गाउँपालिका ४ मेलबोट हाल तुलसीपुर उपमहानगरपालिका ५ रामनगर टोलमा बस्ने १७ वर्षीय हिरा घर्ती र १४ वर्षीय कमल घर्तीलाई १ लाख २१ हजार ९ सय २९ रुपैया शनिबार समाजका केन्द्रिय अध्यक्ष दिलाराम वली आर्थिक सहयोग संकलन संयोजक जगुमति बुढा मगर र उप-संयोजक एलिना बुढा मगरले घरमै पुगि सो रकम हस्तान्तरण गर्नुभएको हो।
एकै घरका दिदिभाइ विगत ६ महिना देखि ओछ्यानमै थला परेका छन्। हात खुट्टा नलाग्ने बोल्न नसक्ने जस्ता जटिल रोग लक्षण देखा परेको छ। दाङ, नेपालगन्ज, काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार गरेको अहिले सम्म निको नभएको बुवा वेद बहादुर घर्ती र आमा गोमा घर्तीले भन्नु भयो। आफ्ना छोराछोरीलाई वंशानुगत कलेजो रोग लागेको सन्चो हुने नहुने कुनै ठेगान नरहेको समेत डाक्टरले आफुहरुलाई भनेको सुनाउनु भयो।
छोराछोरीलाई उपचार गर्न आर्थिक अभाव छ। उपचार गरे केही हुन्छ कि भन्ने सोचेका छौं। हामी सङ्ग पैसा छैन। रोल्पाली सेवा समाजले सहयोग गर्नुभयो। समाजका केन्द्रिय अध्यक्ष दिलाराम वली हाम्रो लागि भगवान सरह हुन। हामीलाई धेरै सहयोग गर्नुभएको छ उहाँलाई धन्यवाद भन्दै गहभरी आँसु बगाउँदै बोल्नु भयो। साथै स्वदेश तथा विदेशबाट सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दै। अझै सहयोगको याचना समेत गर्नुभयो।
रोल्पाली सेवा समाजका केन्द्रिय पदाधिकारी दाङ शाखाका पदाधिकारी र सल्लाहकारहरुको सहयोग हस्तान्तरण कार्यक्रममा उपस्तिथि रहेको थियो। कार्यक्रमको सहजीकरण दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्काले गर्नुभएको थियो।