१२ औं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको लागि विभिन्न समिति उपसमिति गठन
थुर्पा अनलाईन
२०८० फाल्गुन ९ गते बुधवार प्रकाशित
घोराही । दाङमा हुन गइ रहेको १२ औं अन्तरास्ट्रिय लोक साँस्कृतिक महोत्सव अन्तिम चरणमा पुगेको दाङ उद्योग बाणिज्य संघले जनाएको छ ।
एभरेस्ट नेपाल कल्चर ग्रुप काठमाडौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामग्री केन्द्रमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुन गइरहेको छ । अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउनका लागि मुल आयोजक समिति तथा विभिन्न उपसमितिको विस्तार गरिएको छ ।
महोत्सव लाई सफल पार्न दाङ जिल्ला उद्योग वाणिज्य संघले संघको अध्यक्ष वसन्त जोशीको संयोजकत्वमा मुल आयोजक समितिको विस्तार गरेको छ । जसमा घोराहीको सम्पूर्ण वडा अध्यक्षहरु, दाङका सम्पूर्ण उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्ष, दाङका क्रियाशील संस्था, समाजसेवी रहने गरी २६३ सदस्यीय मुल आयोजक समिति तथा राजनीतिक दलका प्रमुख , दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, दाङका सबै पालिका प्रमुखको सल्लाहकार समिति समेत बनेको छ । संघले संघका सदस्य युवराज पोख्रेलको संयोजकत्वमा दाङका सम्पूर्ण मिडियाका प्रतिनिधि रहने गरी प्रचारप्रसार समितिको पनि विस्तार गरेको छ ।
मुल आयोजक समितिका संयोजक बसन्त जोशीले महोत्सवमा सम्पुर्ण दाङ वासी लाई उपस्थितिको लागि अनुरोध गर्नुभएको छ । १४ दिन सम्म चल्ने उक्त महोत्सवमा पहिलो दिन नि:शुल्क प्रवेश रहेको र अन्य दिन १ सय रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै अन्तिम दिन नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने र उक्त दिन भिआईपी टिकट रु पाँच सय तथा सामान्य टिकट रु एक सय रहेको तथा जेष्ठ नागरिकलाई प्रवेश निशुल्क रहेको जोशीले जानकारी दिनु भयो ।
नेपाल सहित भारत, जर्मन, अस्ट्रेलिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेसिया, पेरु, पोल्यान्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति हुने महोत्सवमा १८ गते दाङ झल्किने झाक्री, भेषभुषासहित घोराही परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ । त्यस्तै १९ र २० गते राष्ट्रियस्तरमा चर्चित कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ भने २१ गते सोमबार नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ । महोत्सवले अन्तराष्ट्रिय संस्कृतिलाई एकै स्थानबाट दृश्यावलोकन गर्न सकिनुका साथै विश्व संस्कृतिलाई बुझन मद्दत पुर्याउने महासचिव महेन्द्र बुढाथोकीले बताए । दाङको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरु प्रस्तुत हुनुका साथै यस क्षेत्रको पर्यटन तथा व्यवासायिक क्षेत्रमा टेवा पुग्नुको साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलिक कला विश्व सामु उजागर हुने र जिल्लावासीलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचिव विकास वलीले बताउनुभयो । उहाँले स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामग्री रहने तथा दाङ जिल्लामा पाइने नेवारी , थारु तथा मगरको परिकारहरु समेत रहने जानकारी दिनुभयो।
संघले स्थानीय तथा देशको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई सफल बनाउन सम्पूर्ण दाङवासी लाग्न आयोजनाले आग्रह गरेको छ ।