लुम्बिनी प्रदेश स्तरीय महोत्सव घोराहीमा सुरु

युवालाई घरेलु तथा साना उद्योगसँग जोड्न मन्त्री न्यौपानेको आग्रह

घोराही। दाङको घोराहीमा लुम्बिनी प्रदेश स्तरीय महोत्सव आजबाट सुरु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ जिल्ला शाखाको आयोजनामा फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन हुने लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव २०८२ को आज एक समारोहबीच उद्घाटन गरिएको हो।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने ले गरेका हुन्।

साना तथा घरेलु उद्योगको विकास र विस्तार लुम्बिनी प्रदेशको समृद्धिको आधार भन्ने नारासहित आयोजना गरिएको महोत्सव उद्घाटन गर्दै मन्त्री न्यौपानेले सरकार र निजी क्षेत्र मिलेर उद्यमशीलता विकासमा काम गरिरहेको बताए। साना तथा घरेलु उद्योगले उत्पादन गरेका वस्तुहरू पर्यटकका लागि आकर्षण बन्न सक्ने भएकाले उत्पादनलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने उनले उल्लेख गरे।

आर्थिक रूपान्तरणका लागि युवाहरूलाई घरेलु तथा साना उद्योगसँग जोडेर अघि बढाउन आवश्यक रहेको मन्त्री न्यौपानेको भनाइ थियो। लुम्बिनी प्रदेश सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए। साथै सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारी को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहलले स्थानीय सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न विशेष पहल गर्नुपर्ने बताए। स्थानीय सरकार जनतासँग सबैभन्दा नजिकको सरकार भएकाले करको दायरा घटाउनेदेखि लगानी सुरक्षित गराएर उद्यमलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले स्थानीय उत्पादन र बजारीकरणमा उपमहानगरपालिकाले विभिन्न प्रयास गरिरहेको बताइन्। कृषि तथा उद्यमशीलतामा बिचौलिया प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।

महोत्सवको उद्घाटनअघि घोराहीमा झाँकीसहित भव्य शोभायात्रा निकालिएको थियो। घोराहीको लखन पार्कबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो। र्‍यालीमा विभिन्न जातजाति, भेषभूषा, कला र संस्कृतिसहितका झाँकी प्रस्तुत गरिएको थियो।

महोत्सवमा आइफेल टावर, युरोपियन स्ट्रिट, लन्डन ब्रिज, बाल उद्यान, जलपरी र सिंहदरबार जस्ता आकर्षक संरचनाहरू राखिएको आयोजकले जनाएको छ।

त्यसैगरी महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। आयोजकका अनुसार बद्री पंगेनी, राजु परियार, ज्योति मगर, दुर्गेश थापा, कमल गौतम, एलिना चौहान, टंक तिमिल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, प्रीति आले, चक्र बम, रचना रिमाल, प्रताप दास, शान्ता रानी परियार, भूमिका गिरी, जी.बी.बी., टिका सानु, सञ्जना श्रेष्ठ, प्रीति पासवान, अञ्जु कुश्मी, राज कुश्मी, सोनी कुश्मी, श्याम राना, कमल बीसी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

महोत्सवमा स्थानीय कला र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कविता, बालचित्रकला तथा वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरिनेछ। विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा प्रतिभा विकासका लागि विभिन्न प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ।

यस्तै महोत्सव अवधिभर रोजगारी तथा सीप विकास, स्वास्थ्य, युवा, कृषि तथा पशुपालन, स्थानीय कला–संस्कृति र पर्यटन, औद्योगिक विकास, महिला उद्यमशीलता, शिक्षा तथा बालबालिका, सूचना प्रविधि तथा सामाजिक सद्भाव सम्बन्धी विषयगत कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्।

कार्यक्रममा विभिन्न संघसंस्था तथा स्थानीय प्रतिनिधिहरूले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस