नेपाल मगर संघको ४४औँ स्थापना दिवस दाङको तुलसीपुरमा मनाइयो

दाङ तुलसीपुर । नेपाल मगर संघको ४४औँ स्थापना दिवस दाङको तुलसीपुरमा आज भव्य रूपमा मनाइएको छ। साथै प्रत्येक वर्ष फागुन १५ गते मनाइने मगर दिवसको सन्दर्भसमेत कार्यक्रमका वक्ताहरूले स्मरण गरेका थिए।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका अध्यक्ष मुक्तबहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार धनबहादुर मास्की प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि मास्कीले ४४औँ स्थापना दिवस तथा फागुन १५ गते मनाइने मगर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायमा शुभकामना व्यक्त गर्दै समुदायलाई एकताबद्ध हुन आह्वान गर्नुभयो। उहाँले नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगर को योगदान राज्यले कहिल्यै भुल्न नहुने उल्लेख गर्नुभयो।

कार्यक्रमको प्रारम्भमा नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगर तथा मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर को तस्बिरमा माल्यार्पण गरिएको थियो। उपस्थित अतिथिहरूले उहाँहरूको योगदानको स्मरण गर्दै मगर समुदायको पहिचान, अधिकार र संगठन निर्माणमा उहाँहरूले पुर्‍याएको भूमिकाको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक कर्णबहादुर बुढा मगर विशिष्ट अतिथि रहनुभएको थियो। उहाँले स्थापना दिवस तथा मगर दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभयो। त्यसैगरी केन्द्रीय सदस्य तोपबहादुर घर्ती मगर, जिल्ला सल्लाहकार भीमकुमारी बुढा, तिकाराम उदासी, पूर्व केन्द्रीय सदस्य खडक बुढा मगरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त अवसरमा नेपाल मगर लेखक संघ दाङद्वारा प्रकाशित वर्ष–१ अंक–१ को ‘गेमी मय’ मुखपत्र विमोचन गरिएको थियो। साथै सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। श्री बाल विकास मा.वि. घोराही–१४ का ३.६७ जिपिए प्राप्त छात्र प्रदीप घर्ती मगर तथा श्री आदर्श मा.वि. देउपुर दाङकी ३.४५ जिपिए प्राप्त छात्रा निरुता पुन मगरलाई २०८२ स्मृति अक्षयकोषबाट जनही १६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमभर मगर भेषभूषासहित सांस्कृतिक प्रस्तुति प्रस्तुत हुँदा वातावरण झनै उल्लासमय बनेको थियो।

सभाका अध्यक्ष मुक्तबहादुर बुढा मगरले स्थापना दिवस तथा मगर दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो। नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर समितिको व्यवस्थापनमा नगर कमिटीको भवनमा कार्यक्रम सम्पन्न भएको हो। जिल्ला उपाध्यक्ष जयप्रकाश घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रकाश पुन मगरले गर्नुभएको थियो।

तस्वीरहरु

प्रतिक्रिया दिनुहोस