दाङ। घोराही दाङको घोराही–१४ नयाँ बसपार्कस्थित एपीएस ट्रेनिङ सेन्टरबाट सशस्त्र प्रहरी बल नेपालतर्फ दोस्रो ब्याचमा एकैपटक १६ जना छनौट भएका छन्। छनौट हुनेहरूमा खगेन्द्र रोका मगर, रुपलाल बुढाथोकी, शारदा पुन मगर, निरा रोका मगर, सृष्टि रोका मगर, संजिता बुढा मगर, दिपा बुढा मगर, कमला आग्री, बिमला पुन मगर, हासना गुरुङ, रेनुका घर्ती मगर, असल पुन मगर, घनश्याम खत्री, मनकुमारी वली, जिते खत्री र मनिषा सुनार रहेका छन्।
छनौट भएका प्रशिक्षार्थीहरूका लागि मंगलबार एपीएस ट्रेनिङ सेन्टरको कार्यालयमा बधाई तथा बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ। सेन्टरका सञ्चालक दिवाकर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी उपरीक्षक कर्णबहादुर बुढा मगर रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढा मगरले सशस्त्र प्रहरी संगठनभित्र रहेर देश र जनताको सेवामा इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्न सुझाव दिए। उनले संगठनभित्र धेरै अवसरहरू रहेको उल्लेख गर्दै उच्च शिक्षा हासिल गरी निरन्तर उन्नति गर्न शुभकामना व्यक्त गरे। आफ्नो कार्यकालको अनुभव सुनाउँदै उनले पहिलेको तुलनामा अहिले सेवासुविधा र अवसरहरू बढेको पनि बताए।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य कैलाश रोका मगर, नेपाल सरकार परराष्ट्र सेवाका शाखा अधिकृत राजेश केसी लगायत अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा ट्रेनिङ सेन्टरका संरक्षक भरत घर्ती मगर, नेपाल प्रहरीका निरीक्षक किस्मत बुढा मगर, रोल्पा माडी गाउँपालिकाका सब इन्जिनियर नरेश घर्ती मगर, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सौजन डाँगी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका बीचबीचमा सांस्कृतिक नृत्य प्रस्तुत गरी मनोरञ्जनसमेत प्रदान गरिएको थियो। सशस्त्र प्रहरी बलमा छनौट भई भर्ना हुन जान लागेकाहरूलाई सेन्टरको तर्फबाट मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो।
एक वर्षदेखि सञ्चालनमा रहेको एपीएस ट्रेनिङ सेन्टरले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाका लागि प्रशिक्षण प्रदान गर्दै आएको छ। कार्यक्रमको सञ्चालन पत्रकार कैलाश घर्ती मगरले गरेका थिए।