घाेराही माघे मेला–२०८२ : सातौँ दिन नायक पल शाहसहितका कलाकार आउँदै

घोराही । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन आज बिहीबार चर्चित नायक पल शाह मेलास्थलमा उपस्थित हुने भएका छन् । आयोजकका अनुसार आजको कार्यक्रममा नायक शाहसँगै ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

घोराही–२ रामपुरमा जन्मिएका नायक शाहले आफ्नै गृहजिल्ला दाङ तथा गृह नगर घोराहीमा आयोजना भइरहेको माघे मेलामा सहभागी हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् । उनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत आफ्ना दर्शक, शुभेच्छुक तथा नगरवासीलाई मेलामा उपस्थित भई आफूलाई आशिर्वाद दिन आग्रह गरेका छन् ।

“आफ्नै नगरमा आयोजना भइरहेको माघे मेलामा आउन पाउँदा अत्यन्त खुसी छु,” भन्दै नायक शाहले आज सबैलाई परिवारसहित मेलामा आएर कार्यक्रमको रमाइलो लिन आग्रह गरेका छन् ।

आजको कार्यक्रममा नायक पल शाहसँगै चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी, सङ्गीत बिएम तथा रचना चौधरीको विशेष प्रस्तुति रहनेछ । साथै, मोडल मन्जु थापा, बालकलाकार सान अधिकारी र सोनी डान्स ग्रुपको आकर्षक प्रस्तुति पनि रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए ।

पुस २५ गतेदेखि सुरु भएको ‘माघे मेला–२०८२’ माघ १० गतेसम्म सञ्चालन हुनेछ । पर्यटन, संस्कृति तथा स्थानीय कला–प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलाले घोराहीको सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस