घोराही । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को छैठौँ दिन लोकप्रिय लोकदोहोरी गायिका शान्तीश्री परियार र सुगम संगीतका चर्चित गायक हेमन्त शर्माले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् ।

पछिल्लो समय एकपछि अर्को हिट गीत सार्वजनिक गर्दै आएकी गायिका शान्तीश्री परियारले लाउन दाजै पिरती, न्याउली वनैमा, रुकुम मैकोट, जुनेली रातैमा म भुलेँ तिम्रो साथैमा, अरेली काडैले तथा पछेउरी च्यातियो तिमीले तानेर जस्ता चर्चित गीत प्रस्तुत गर्दै मेलास्थललाई उत्सवमय बनाइन् । उनका गीतमा दर्शक नाचे–गाएसँगै भावनामा पनि बगेका थिए ।
त्यसैगरी, गायक हेमन्त शर्माले आउँथ्यो दशैँ, फूल है भने रसाइ देऊ, परेली झिम झिम, थापन थापन हातैमा र नम्बरी सुन हो जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकको ताली बटुले । उनका सदाबहार गीतहरूले कार्यक्रममा थप रौनक थपेको थियो ।
कार्यक्रममा गायिका रुचा मगरले धाङ्सी धाङ्बाङ मगरकी चेली, नबोल दाजु घुमार जस्ता गीतले नचाए। बिमला मगर तथा सोनी डान्स ग्रुपका कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहेको सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए ।

मेलाअन्तर्गत सम्पन्न दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङ ‘बी’ र रेउघाली समाज दाङ बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङ ‘बी’ विजयी भएको आयोजकले जनाएको छ ।
पुस २५ गतेदेखि सञ्चालनमा आएको ‘माघे मेला–२०८२’ माघ १० गतेसम्म चल्नेछ। मेला दाङको सांस्कृतिक पहिचान, लोककला र स्थानीय प्रतिभाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।