दाङ घोराही। प्राणघातक बोनम्यारो क्यान्सरबाट विगत एक वर्षदेखि पीडित रोल्पाको गंगादेव गाउँपालिका-१ ओत पानीखोलाकी २१ वर्षीया निर्मला पुन मगरलाई उपचारका लागि दुई लाख बयसट्ठी हजार नौ सय सतासी रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

रोल्पाली सेवा समाज रोल्पा साउदी शाखाका अध्यक्ष महेन्द्र घर्ती मगरको आर्थिक संयोजनमा संकलन गरिएको उक्त रकम शनिबार घोराहीस्थित होटल सुपर लजमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।
रकम रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीलगायत केन्द्रीय समिति तथा दाङ शाखाका पदाधिकारीहरूको संयुक्त उपस्थितिमा पीडित निर्मला पुन मगरलाई हस्तान्तरण गरिएको हो। कार्यक्रमको सहजीकरण समाजका केन्द्रीय महासचिव निशान वलीले गर्नुभएको थियो।
बोनम्यारो क्यान्सरबाट पीडित निर्मलाको उपचार विगत एक वर्षदेखि काठमाडौंस्थित टिचिङ शिक्षण अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार उनको उपचारका लागि पचास लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भइरहेको भन्दै निर्मलाले सहयोगी मनहरूसँग जीवन बचाइदिन सहयोगको अपिल गरेकी छन्।
निर्मलाकी श्रीमान दलबहादुर पुन र पाँच वर्षीया एक छोरी छन्। उपचार खर्च जुटाउन परिवारले विभिन्न संघ-संस्था शुभेच्छुक तथा सहयोगी मनहरूसँग सहयोगका लागि अनुरोध गरेको छ।