सोमबार कृषि प्रदर्शनीसँगै गायक खुमन अधिकारीको प्रस्तुति

घोराही ८ चैत। घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा दैनिक विशेष कार्यक्रमअन्तर्गत सोमबार कृषि प्रदर्शनी गरिने भएको छ। महोत्सवमा विशेष आकर्षणका रूपमा कृषि प्रदर्शनी गर्ने तयारी भइरहेको आयोजक मूल समितिले जनाएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन भइरहेको साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार भन्ने नारासहितको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२ अन्तर्गत सोमबार कृषि विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमअन्तर्गत किसानहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी गरिने आयोजक मूल समितिका संयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा माटो परीक्षण शिविर, बाली उपचार शिविरसँगै कृषि प्रदर्शनी सञ्चालन हुनेछ। किसानहरूको खेतबारीको माटोको गुणस्तर निःशुल्क परीक्षण गरिने तथा बालीमा लागेको रोग–कीराको निःशुल्क उपचार सेवा प्रदान गरिने कृषि विशेष कार्यक्रम संयोजकले बताएका छन्। साथै किसानहरूले उत्पादन गरेका कृषि वस्तुहरूको प्रदर्शनी गरिनुका साथै उत्कृष्ट प्रदर्शन गर्ने किसानलाई पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ।
कृषि आधुनिकीकरण कार्यक्रम लमही र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। किसानहरूलाई माटो परीक्षण र बाली उपचार शिविरमा सहभागी हुन तथा आफ्ना कृषि उत्पादन प्रदर्शनीमा ल्याउन अनुरोध गरिएको छ।
महोत्सवमा स्थानीय साना तथा घरेलु उद्योगहरूलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ। महोत्सवमा प्रत्येक दिन विभिन्न विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसमा रोजगारी तथा सीप विकास, स्वास्थ्य, युवा, कृषि तथा पशुपालन, स्थानीय कला–संस्कृति, पर्यटन, औद्योगिक विकास, महिला उद्यमशीलता, शिक्षा, सूचना प्रविधि तथा सामाजिक सद्भावसम्बन्धी कार्यक्रमहरू समावेश छन्।
यस्तै सोमबार महोत्सवको सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक खुमन अधिकारीको प्रस्तुति रहने भएको छ। कार्यक्रमअन्तर्गत चर्चित कलाकारहरूको दैनिक प्रस्तुति भइरहेको छ। सोमबार गायक खुमन अधिकारीसँगै गायिका टीका प्रसाईं, गायक विष्णु सिंजालीलगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
यसअघि आइतबार लोकदोहोरी गायिका कला लम्साल, बसन्त लम्साल, शान्तराम सेञ्चुरी, विनोद परियारलगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस