दाङ। दाङको तुलसीपुर उप–महानगरपालिका क्षेत्रमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार फागुन ७ गते राति करिब ९:३० बजे तुलसीपुर उप–महानगरपालिका–५ बिरेन्द्र चोकमा आयोजित स्वागत कार्यक्रममा उक्त घटना भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट घोराही आउने क्रममा आयोजना गरिएको कार्यक्रममा भीडभाडका बीच केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान गरी तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुढीबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनलाई मिति २०८२ फागुन ८ गते प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। साथै समाजमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पर्ने गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार गर्न जिल्ला प्रहरी कार्यालय दाङले सबै सरोकारवालालाई अनुरोध गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ।