१४९ औँ क्याप्टेन लखन थापा मगर स्मृति दिवस सम्पन्न

घोराही। नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४९ औँ स्मृति दिवस दाङको घोराहीमा विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षता तथा संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम दाङको घोराही–१४ स्थित लखन पार्कमा सम्पन्न भएको हो।

स्मृति दिवसको अवसरमा क्याप्टेन लखन थापा मगरको शालिकमा माल्यार्पण गरिएको थियो। प्रमुख अतिथि रोकाले देश र जनताको अधिकारका लागि उहाँले दिएको बलिदान ऐतिहासिक र प्रेरणादायी रहेको उल्लेख गर्दै नेपालको इतिहासमा उहाँको योगदान अमूल्य रहेको बताएका थिए। कार्यक्रममा मगर समुदायका केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सभामा अध्यक्ष बेद बहादुर बुढा मगरले स्मृति दिवसको महत्वबारे मन्तव्य राख्दै कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन घोराही नगर समितिका सचिव गोपाल बुढा मगरले गर्नुभएको थियो।

शालिक अनावरण कार्यक्रमअन्तर्गत क्याप्टेन लखन थापा मगरको अर्धकदको शालिक स्थापना गरी तत्कालीन सामान्य प्रशासन मन्त्री रेखा शर्माबाट अनावरण गरिएको थियो।

क्याप्टेन लखन थापा मगरको जन्म वि.सं. १८९१ सालमा गोरखा जिल्लाको साविक काउले भङ्गार क्षेत्रमा भएको हो। उहाँको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर हो। वि.सं. १९११ सालमा मगर पल्टन (पुरानो गोरखा पल्टन) मार्फत सेनामा प्रवेश गर्नुभएका उहाँ वि.सं. १९२५ सालमा क्याप्टेन पदमा पदोन्नति हुनुभएको थियो।

वि.सं. २०७३ सालमा नेपाल सरकारले उहाँलाई नेपालको प्रथम सहिद घोषणा गरेको हो। उहाँको योगदान र बलिदानलाई स्मरण गर्दै हरेक वर्ष स्मृति दिवस मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस