मेरो अमेरिका जाने सपना पूरा भयो तर त्यो सपना अमेरिकाको जेलभित्र सिमित रह्यो !
अमेरिकाबाट डिपोर्ट गरिएका शेरबहादुर डाँगीका जेल जीवनका भोगाइ।

म पढेर आफ्नो गाउँ, ठाउँ, समाज र देशमा केही गर्छु गरौं भन्ने हुटहुटी सानैदेखि थियो। विविध बाध्यता र परिस्थितिले वैदेशिक यात्रामा निस्के र लामो समय खाडीमुलुक गल्फ दुबईमा बसेर काम गर्दै गाउँ, समाजमा सकेको सामाजिक कार्यहरू गर्दै आइरहेको थिएँ। विदेशमा धेरै बस्नु हुँदैन विदेशमा सिकेको सीप र कामलाई नेपालमै सदुपयोग गर्नुपर्छ भन्ने उद्देश्यले नेपालमा केही कामको सुरुवात गरेँ। त्यो पनि सोचेको जस्तो भएन फाइदाभन्दा बेफाइदामा गयो। केही समय बसेर फेरि त्यही पुरानो ठाउँ विदेश फर्किएँ। विदेशमा काम गर्दैगर्दा थुप्रै जीवनका उतारचढावहरू आए। कता कता अबको मेरो यात्रा र सपना अमेरिका हुनुपर्छ भन्ने सोच मलाई मनमा जाग्यो। र त्यहीअनुरुप मैले सोच परिवर्तन गरी अमेरिकाको यात्रा तय गरेँ।
अमेरिका पुग्न एसियाका केही देश हुँदै अफ्रिकी देशहरू हुँदै दक्षिण अमेरिकाका धेरै देशहरु पार गर्दै दुनियाँको सबैभन्दा डरलाग्दो कयौं मानिसहरूको अमेरिका पुग्ने सपना बाटोमै चक्नाचुर सदाका लागि अस्ताउने अमेजन, पानामाको जङ्गलमा धेरै दुःख कष्टकरका कठिन यात्रा पार गर्दै मेक्सिको हुँदै दुई वर्ष लगाएर अमेरिका पुगेँ। अमेरिका पुगेपछि मलाई एक खाले खुसी हर्ष मनमा थियो। अब व्यक्तिगत चाहना पूरा भयो भन्ने लाग्यो। तर समय र भाग्यले मलाई बारम्बार ठग्यो मेरो अमेरिका बस्ने सपना सपनामै अधुरो चक्नाचुर हुन पुग्यो।
अमेरिका बाहिर कस्तो थियो कुनै थाहा भएन मलाई तर अमेरिकाको विभिन्न राज्यहरूमा आठ महिना जेल जीवन बिताएँ कष्टकर हृदय विदारक हात र खुट्टामा फलामका चेन हतकडीले बाँधेर राखेको पीडा भोग्न बाध्य भएँ। जेलको बसाइँ सोचेको जस्तो थिएन। अमेरिकाको जेल जीवनमा कहिलेकाही आफुले सोचेजस्तो नहुने रहेछ। यहाँको यथार्थ, चुनौती र एक्लोपनले धेरै कुरा सिकाएको छ। नेपालबाट मेरा परिवार, साथीहरू, आफन्तहरु तथा अमेरिकामा बस्नुभएका प्रिय व्यक्तिहरु तपाईहरुले जति साथ सहयोग र माया दिनुभयो त्यो मेरा लागि सधैंका लागि स्मरणीय रहनेछ। जीवनमा कहिलेकाही इच्छा प्रयास हुँदाहुँदै पनि भाग्य र समयले साथ नदिएको अनुभूति हुन्छ मलाई। तपाईहरुको अथाह सहयोग हुँदाहुँदै पनि दुर्भाग्य म अमेरिकाको जेलबाट बाहिर निस्कन सकिन। तैपनि तपाईहरुको माया, विश्वास र साथको म सधै ऋणी छु।
अमेरिकामा जीवनको पहिलो जेल बसाइँमा परेँ। खान र बस्न सोचे जस्तो थिएन। संसारभरिका कयौं मान्छे अमेरिका हिडेका फरक देशका फरक मान्छेहरु सँग म जस्तै अन्य नेपालीहरु सँग जेलका कोठामा थुप्रेर बस्नु पर्ने बाध्यता आइलाग्यो। तल्लो बाटो हुँदै अमेरिका जाने नेपालीहरु एकैदिन जेल नबसी बाहिर निस्किनेहरुलाई जेलको भोगाइ त्यति थाहा हुँदैन। जुन मान्छे लामो समय जेलमा बसेर अमेरिकामै बस्ने होस् अथवा नेपाल फर्किनेहरुलाई मात्रै जेलको यथार्थ भोगाइ थाहा हुन्छ। त्यो आठ महिनाको जेल बसाइँ बिताएपछि मलाई बैशाख २६ गते नेपाल फर्काइयो नेपाल आउँन पनि यति धेरै गाह्रो भयो कि आठ महिना जेल बसाइँपछि अमेरिकाको टेक्सासदेखि सिकाको विमानस्थलबाट युरोप भारत हुँदै नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल काठमाडौं आइपुग्न अठचालीस घण्टा लाग्यो। भारत र पाकिस्तानको लडाइँँ द्वन्द्वले विमानको रुट बन्द भएको रहेछ।
अमेरिकादेखि अठचालीस घण्टाको हवाई यात्रामा म नेपालबाट अमेरिका जाँदा लगाएको एक जोर कपडासँग मात्र आएको थिएँ। मसँग केही थिएन वरिपरि हेर्दा सबै मान्छे खुसी थिए, उनका आफन्त आफ्नो मान्छे विदेशबाट घर फर्किएका थिए। खुसी र हर्षले कतिबेला घर पुगौँ पुगौँ भन्ने खुसियाली र अनुहारमा चमक थिए उनीहरूका। नहोस् पनि कसरी। तर आफूलाई भने कताकता मनमा डरत्रास अनेकौं कुराहरू खेल्दै थियो। एकोहोरोपन हुँदै म अनुहार घोप्टो पारेर बसिरहेको थिएँ। सबैले मलाई वरिपरिबाट हेर्दै थिए। त्यो समय सम्झिँदा अझै पनि मनमा त्रास आइरहन्छ। त्यो दिन मेरो जीवनको सबैभन्दा लज्जित अरु कुनै दिन थिएन। अमेरिका जानुभन्दा पहिले धेरैपटक विदेशबाट घर फर्कदा मसँग थुप्रै लगेज, झोला सामानहरू हुन्थ्यो भिन्न खुसीहरु मनमा हुन्थे। तर अमेरिकादेखि त्यो दिन म खुट्टामा खाली चप्पलसहित नेपालको विमानस्थल अध्यागमनसम्म आइपुग्दा कताकता सोचेर भावुक हुँदै भक्कानिए छु, किनकि अमेरिकादेखि डिपोर्ट गरेको फलानो नामको व्यक्ति यो समयमा आउँदै छ भन्ने जानकारी पहिल्यै नै थाहा हुँदोरहेछ। सबैले मलाई पर्खिरहेका हेरिरहेका थिए। विमानस्थलका कर्मचारीले मलाई सोधपुछ गर्दा मैले जीवनका कष्टकर भोगाइका नमिठा अनुभव सुनाउँदा मलाई धेरै सहानुभूति र सकारात्मक सोचका कुराहरु सम्झाउनु भयो।
जीवन धेरै बाँकी छ तपाई आफ्नै देशमा सकुशल आउनुभयो तपाईसँग परिवार छ, गाउँ समाज छ, नआत्तिनुहोस् भन्दै सम्झाएर मेरो घर परिवारलाई फोन गरिदिनुभयो मेरो परिवार आफन्तलाई म काठमाडौं आइसकेको खबर गराएँ। त्यसपछि मेरो परिवार आफन्तको सहानुभूतिले मेरा खुसीका आँसुहरु एकाएक झर्न थाले; त्यो क्षणमा विमानस्थलका कर्मचारी घर परिवार आफन्तले दिएको सल्लाह सुझावले मलाई जीवनमा अझै केही गर्नुपर्छ बाँच्नुपर्छ भन्ने थप ऊर्जा मिल्यो। अनि अगाडि बढ्ने ठुलो हिम्मत गरेँ। मसँग बाँकी रहेको केवल मेरै शरीर र आत्मबल अनि मेरी आमा, श्रीमती र दुई छोराहरु, भतिजी, दाजु भाउजुहरु आफन्तहरू साथै गाउँ समाजको माया र विश्वास जसले मलाई यहाँसम्म आउँन ऊर्जा र साहस दिइरहयो। मेरो यात्रामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा साथ सहयोग गर्ने चाहे बाटोमा होस् या अमेरिकाको जेलमा होस् सबैलाई धन्यवाद आभार व्यक्त गर्न चाहन्छु।
म असफल हुनुको कारण के थियो मैले अहिलेसम्म बुझ्नसकेको छैन म असफल हुनुको एउटै कारण भाग्यलाई दोष दिएको छु। जे मैले गल्ती गरेँ त्यस्तो गल्ती अरु कसै नेपालीहरुले नगर्नु होला। यो यात्रामा जानेहरु सबै सफल हुन्छन् भन्ने छैन। कतै मजस्तै असफल तपाई पनि पर्न सक्नुहुन्छ। लाखौंको धन सम्पत्ति खर्च हुनसक्छ। त्यसैले हजारौंपटक सोचेर मात्र कदम चाल्नुहोला भन्ने सल्लाह दिन चाहन्छु। म अमेरिका जानैपर्ने त्यति ठुलो कारण केही थिएन तर मेरो एउटै मात्र चाहना थियो। घर परिवार गाउँ समाजको लागि अझ केही राम्रो गर्छु भन्ने थियो। त्यो सपना कता कता अधुरो भएको छ, समय लाग्ला मेरो परिवार साथीभाइ आफन्त र गाउँ समाजको बिचमा कहिल्यै हार्न चुक्न दिने छैन । मेरो सामाजिक कामहरू निरन्तरता दिने नै छु आज म मात्र होइन। मजस्तै धेरै नेपाली युवाहरू यही अवैधानिक बाटो हुँदै अमेरिका पुगेका थिए। प्रयास गर्नेहरू सबै सफल हुन्छन् भन्ने छैन। भाग्य र समयले ठगेको असफल हुने म परेछु। त्यसैले मलाई अवैधानिक बाटोबाट गएकोले यस्तो भएको नभन्नु होस् । कृपया म कम्जोर हुन चाहन्न अझ बलियो भएर गाउँ समाजमा बाँच्न चाहन्छु। मैले देश छोड्ने मनसाय थिएन। व्यक्तिगत चाहना अमेरिका जाने इच्छा थियो। त्यसैले यतिखेर मलाई तपाईहरुको माया र थप हौसला चाहिन्छ। मलाई हिजोका दिनहरू विदेशबाट फर्किदा धेरैसँग भेटघाट र बस्ने वातावरण हुन्थ्यो तर आज कता कता त्यस्तो नदेखिएको मैले महसुस गरेको छु। यहाँ धेरैले गैरकानुनी रूपमा अमेरिका पुगेको फलानो व्यक्ति फर्किएको छ। मेरो नामनै औल्याउँदै नगरे पनि मजस्तै अन्य साथीहरूको सामाजिक संजालमा विभिन्न खाले टीका-टिप्पणीहरू देख्दा अमेरिका पुगेकाहरूको हालत के होला हिजो यो गर्छु त्यो गर्छु भन्दै हिड्ने अब के गर्लान् भन्ने कुराहरूले झन मन पोल्छ थप पीडा बनाउँछ।
अत्यन्तमा जे भए पनि हामी अमेरिकाबाट फर्केकाहरूलाई नेपालमै केही गर्ने साहस र सफलता प्राप्त होस्। दुनियाँले गिज्याए पनि सजिलै पचाई केही गर्ने साहस तपाई हामीलाई मिलोस् हामीहरू अपराध गरेर आएका होइनौं त्यसैले निसंकोच ढुक्कसँग बाँच्न सकौं र केही गर्न सकौं भन्ने लाग्छ। यतिखेर हामीलाई तपाईहरूको माया र थप हौसला चाहिन्छ।
धन्यवाद
शेरबहादुर डाँगी
![]() |
|