कृषि प्रदर्शनीसँगै माटो र बाली परीक्षण

घोराही, ८ चैत। घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सव अन्तर्गत सोमबार कृषि विशेष कार्यक्रम सम्पन्न भएको छ। महोत्सवमा विशेष आकर्षणका रूपमा कृषि प्रदर्शनी तथा माटो र बाली परीक्षण कार्यक्रम आयोजना गरिएको हो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा फागुन २८ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन भइरहेको “लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सव–२०८२” अन्तर्गत सोमबार कृषि विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा किसानहरूले उत्पादन गरेका विभिन्न कृषि उपज, कृषि सामग्री तथा कृषि यन्त्रहरूको प्रदर्शनी गरिएको थियो।

प्रदर्शनीमा केराउ, साग, तोरी, बन्दाकोबी, मुला, गहुँ, जौ, स्ट्रबेरी, सूर्यमुखी, गड्यौला मल, फर्सी, आलु लगायतका बाली तथा ट्र्याक्टर, हाते ट्र्याक्टर, मिल, पम्पसेट, जेनेरेटर, मकै रोप्ने मेसिन, च्याफ कटर, मिक्सर मेसिन, थ्रेसर, धान काट्ने रिफर लगायतका कृषि उपकरण प्रदर्शनमा राखिएका थिए। साथै स्थानीय स्तरमा उत्पादन हुने कुखुरा, मौरीजन्य सामग्री तथा दाङको पहिचान मानिएका रैथाने बालीहरू—सुख्खा धान, सिमथाली, सूर्यमुखी, हद्रिनाथ, अनदी, तिल, मस, अडहर लगायत पनि प्रदर्शन गरिएको थियो।

उक्त अवसरमा ३७ जना किसानको माटो तथा बाली परीक्षण गरिएको आयोजकले जनाएको छ। कृषि आधुनिकीकरण कार्यक्रम लमही र कृषि ज्ञान केन्द्र घोराहीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँगाउँबाट किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कृषि क्षेत्रलाई आधुनिकीकरणसँग जोड्न आवश्यक रहेको बताए। उनले किसान, सरकार र सरोकारवालाबीच सहकार्य गरी कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। माटो परीक्षणका आधारमा खेती गर्न र बाँझो जमिन उपयोगमा ल्याउनुपर्ने उनको भनाइ थियो।

कृषि ज्ञान केन्द्र घोराहीका कार्यालय प्रमुख नवराज भण्डारीले व्यवसायिक रूपमा कृषि उत्पादनमा जोड दिन किसानलाई आग्रह गरे। उनले विषादी प्रयोगमा सचेत हुन र सुरक्षित उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए। कृषि ज्ञान केन्द्रले किसानलाई आवश्यक सहजीकरण गर्दै आएको जानकारी पनि उनले दिए।

कार्यक्रममा अन्य वक्ताहरूले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न, उत्पादनको बजारीकरणमा सहजीकरण गर्न तथा कृषि सामग्री समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।

महोत्सव अन्तर्गत सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। सोमबार लोकदोहोरी गायक खुमन अधिकारी र गायिका टीका प्रसाईंले प्रस्तुति दिएका थिए। मंगलबार लोकप्रिय गायिका रचना रिमालसहित अन्य कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस