ज्ञानज्योति एजुकेसनल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न

घोराही। दाङको घोराही उपमहानगरपालिका–१३ दम्मुरगाउँस्थित ज्ञानज्योति एजुकेसनल एकेडेमी विद्यालयले आफ्नो १६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल घर्ती मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि घर्ती मगरले विद्यालयको वार्षिकोत्सवका अवसरमा शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

यसै अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक तुलबहादुर बिकले विद्यार्थीहरूलाई मोबाइल फोनको अत्यधिक प्रयोगले अध्ययनमा नकारात्मक असर पार्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो। उहाँले मोबाइल प्रयोगको लत दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने बताउँदै सन्तुलित प्रयोग गर्न सुझाव दिनुभयो।

विद्यालय व्यवस्थापन समितिकी महिला सदस्य पार्वता थापासहित अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्मृति बाठा, लिला वली, गंगा वली, पत्रकार सबिन प्रियासन, गोविन्द खड्का, कैलाश घर्ती मगरलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

सप्ताहव्यापी खेलकुद कार्यक्रम २०८२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा अभिभावकहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।

कार्यक्रममा अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थितिमा मारुनी, देशभक्ति, नेवारी, टप्पा, साकेला, झ्याउरे, भूमे, कौडा लगायत विभिन्न जातजातिका सांस्कृतिक झल्को दिने नृत्यहरू प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद बुढा मगरले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले विद्यालयले विगत १६ वर्षदेखि सञ्चालन गर्दै आएका शैक्षिक अतिरिक्त पाठ्यक्रम गतिविधिहरू अनुशासन व्यवस्थापन नतिजा सुधारका प्रयास तथा आगामी योजनाबारे स्पष्ट जानकारी गराउनुभयो। विद्यालयको समग्र विकासमा अभिभावक र समुदायको साथ सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण विद्यालयका शैक्षिक निर्देशक नवीन आचार्यले गर्नुभएको थियो। साथै, कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

तस्वीरहरु:

 

प्रतिक्रिया दिनुहोस